२०८३ असार २ गते , मंगलबार
स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा पुनः ढकाल
झापा । स्वतन्त्र पत्रकार सङ्घ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका हुन् ।
त्यस्तै सदस्यहरू तीर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका छन् । समितिका अन्य सदस्यहरू समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ । संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरूलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ ।
दलीय स्वार्थका कारण मूलक गम्भीर सङ्कटमा पर्ने खतरा बढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकले सही सूचना पाउनबाट वञ्चित हुनु परेको निष्कर्ष निकालिएको छ । नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशील सङ्घ–सङ्गठनले अझै पनि स्वतन्त्र पकारको अस्तित्व स्वीकार गर्न आनाकानी गरेको भन्दै स्वतन्त्र पत्रकारहरूलाई पनि सम्मानजनक रुपमा व्यवहार गर्न माग गरे ।
दलीय सङ्गठनको आधारमा गठन भएका सङ्गठनहरूले स्वतन्त्र पत्रकारिता गर्न नसक्ने भएकाले आस्था र विचारलाई थाँती राख्दै पत्रकारिता स्वतन्त्र रुपमा गरिनु पर्नेमा जोड दिइएको छ । साथै पत्रकार महासङ्घको हरेक गतिविधिमा स्वतन्त्र पत्रकारहरूलाई समेत समावेश गर्न माग गरिएको छ ।
समाचार लेखेकै आधारमा कसैले असुरक्षाको अनुभूति गर्न नपरोस् भन्दै जिम्मेवार पत्रकारिता गर्नु आजको आवश्यकता भएकोमा स्वतन्त्र पत्रकारहरूले जोड दिएका छन् । कोरोना भाइरसको संक्रमण झापामा बढ्दै गएका बेला प्रविधिको प्रयोग गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।
साथै अधिवेशनले संस्थापक अध्यक्ष बस्नेतलाई प्रदेशमा समितिमा सिफारिस गरेको छ । केन्द्रीय महाधिवेशन आगामी १९ र २० गते नवलपुरमा गरिने भएकाले जिल्ला अधिवेशहरु धमाधम भइरहेका छन् । २५ जिल्लामा सङ्गठन विस्तर भइसकेको र आगामी दिनमा थप जिल्लाहरूमा सङ्गठन विस्तारलाई तीव्रता दिइने बताइएको छ ।