२०८३ असार २ गते , मंगलबार

प्राधिकरणले विद्युत् पोल वितरण नगर्दा जोखिममा भद्रपुरका स्थानीय

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३१ गते , आईतबार
प्राधिकरणले विद्युत् पोल वितरण नगर्दा जोखिममा भद्रपुरका स्थानीय

(रेवतीराज घिमिरे) भद्रपुर । भद्रपुरका स्थानीयहरुले विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले बस्ती बसेको घरधुरीको आधारमा पोल वितरण नगरिदिँदा आफूहरू विद्युत्बाट हुने क्षतिको जोखिममा रहेको बताएका छन् । भद्रपुर-९ का स्थानीयहरुले मुख्य राजमार्गका पोलहरूबाट तार तानेर १ देखि २ किलोमिटर टाढा बस्ती सम्म बासको साटोमा तार बेरेर लैजानु पर्दा हावाहुरी र चट्याङ्ग परेको बेला तार चुटिने र विद्युत् सर्ट भई आगलागी हुन सक्ने सम्भावित दुर्घटनाले आफूहरू अत्यन्तै जोखिममा रहेको बताएका हुन् ।

प्राधिकरणले बस्ती नभएको ठाउँमा पहुँचका भरमा तत्काल पोल पुर्‍याई दिने र बर्षौ देखि बस्ती भएको ठाउँमा भने जति नै आवाज उठाए पनि पोल दिन कन्जुस्याइँ गर्दा जोखिम दिनदिनै बढेर गएको उनीहरू बत्ताउँछन् । पुरानो मकाएको काठको पोल भद्रपुर नगरपालिका भित्र हटाई सकियो भनेर भन्ने तर नहटाउने र बस्ती भएको ठाउँमा समेत प्राधिकरणले पोल विस्तार नगरिदिँदा आफूहरूलाई रातमा निन्द्रा न दिनमा भोक भएको स्थानीयहरूको भनाई छ ।जोखिमयुक्त अवस्थामा केही समयका लागि मात्र भनेर ल्याइएका तारबाट हावाहुरी बतास आउँदा तार सर्ट भई आफूहरूको घरपरिवारमा हुने डरले जहिले पनि त्रासमा बस्नु परेको स्थानीयहरूको गुनासो छ ।

आफ्नो पोलको अभावमा टिनको छाना गरेको घरमा वर्षौँदेखि विद्युतीय तार झुन्डिएको र तार को व्यवस्थापन गर्न आफूले पटक पटक प्राधिकरणमा निवेदन दिए पनि प्राधिकरणले नसुनेको केदारेश्वर टोल विकास संस्था अन्तर्गत डाँफे मिलन चौक निवासी स्थानीय तिलकप्रसाद बुढाथोकीले बताए।

उनले तत्काल झुन्डिएका छरपस्ट तारहरूको व्यवस्थापन गर्दै पोलको विस्तार गर्न माग गर्दै हावाहुरी आएर तार सर्ट भई घर जल्ने अवस्था सिर्जना भएमा त्यसको जिम्मेवार प्राधिकरणले लिनु पर्ने उनको भनाई छ ।आफूहरूले प्राधिकरणमा पोल विस्तारको लागि निवेदन दिएको र प्राधिकरणले निवेदन दिए पश्चात् अनुगमन समेत गरे पनि महिनौँ बितिसक्दा पनि विस्तारको कार्यमा सुनुवाइ नगर्दा उक्त अनुगमनको समेत कुनै अर्थ नभएको आम टोलवासीहरूको भनाइ छ ।

पोलको अभावका कारण हाइवेदेखि वासको साटोमा तार बेरेर घर बस्ती भएको ठाउँमा लागि विद्युत् प्रयोग गर्दा २ , २ महिनामा वासका साटाहरू फेर्नु पर्ने खेतबारीमा तार झुन्डिएर खेती गर्न समेत समस्या हुने गरेको सिंग्रिभिट्टा निवासी स्थानीय नारायण शंकरले बताए ।

यस्तो अवस्थामा तारको व्यवस्थापन नहुँदा आफूहरू हावाहुरी बतास आउँदा जुनसुकै बेला पनि विद्युतीय जोखिममा रहेको उनको भनाइ छ । यस्तो जोखिमपूर्ण तरिकाले प्रयोग गरिएको बत्तीको बिल समेत पुरै तिर्नु पर्ने बाध्यता रहेको र सबै कुराहरूमा प्राधिकरणले आफूहरूलाई अन्याय गरेको उनीहरूको भनाई छ । उक्त क्षेत्रका आम उपभोत्ताहरुले आफूहरूले दिएको निवेदनका आधारमा तत्काल पोल विस्तार गरी जोखिम हटाइ आफूहरूको माग सुनुवाइ गर्नु पर्ने समेत बताएका छन् । उनीहरूले सरकारले अति विपन्न परिवारलाई मिटर बक्स दिने निर्णय गरे बमोजिम पैसा जम्मा गरे पनि अहिले सम्म मिटर नपाएको विपन्न स्थानीयहरूको गुनासो रहेको छ ।

स्थानीयहरूका उक्त मागहरू पुरा गर्न वार्ड कार्यालयबाट सिफारिस गरी पठाई सकिएकोले प्राधिकरणले माग सुनुवाइ गरी तत्काल समस्याको समाधान गरिदिनु पर्ने भद्रपुर- ९ नम्बर वडाका वडा सदस्य नूतन पौडेलले बताए । बस्ती नभएको ठाउँमा पोल विस्तार गर्नु को सट्टा बस्ती भएको ठा उमा पोल विस्तार गरी समस्याको समाधान गर्नु पर्ने आम स्थानीय उपभोक्ताहरूको भनाइ छ । यता नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र प्रमुख सञ्जीव शाहले निरन्तरताको लकडाउनका कारण समयमा काम हुन नसकेको स्विकार्दै लकडाउन खुलेसँगै सबै कार्यहरूलाई निरन्तर दिँदै लैजाने बताए । 

सम्बन्धित समाचार