अन्तर्राष्ट्रिय युवा दिवस : नगर युवा परिषदद्धारा पत्रकार मण्डल, भद्रपुर जेसीज र स्काउटरलाई सम्मान
झापा । भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले टाइम्स अफ प्रदेश अनलाइन पत्रिकाका सम्पादक पार्थ मण्डललाई सम्मान गरेका छन् । ‘खाद्य प्रणालीमा रूपान्तरण स् मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा परिषद्ले युवा पत्रकार रुपमा टपका सम्पादक मण्डललाई सम्मान गरेका हुन् ।
नगरपालिकामा बिहीबार आयोजित युवा सम्वाद तथा सम्मान कार्यक्रममा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर पत्रकार मण्डललाई सम्मान पत्र प्रदान गरेका थिए । प्रेस क्लव भद्रपुरका सचिव समेत रहेका पत्रकार मण्डल पूर्वाञ्चल दैनिक, थाहाखबर, एबिसी टेलिभिजन, हिमालयन टाइम्स, मकालु टेलिभिजन, सुर्योदय टेलिभिजन, आगन एफएम लगायत मिडियामा आवद्ध छन् । त्यस्तै सोही कार्यक्रममा नगर क्षेत्रका सक्रिय सामाजिक संस्था भद्रपुर जेसीजलाई सम्मान गरेको छ । जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकास) लाई सो सम्मान पत्र मेयर श्रेष्ठले प्रदान गरेका थिए ।
जेसीजले कोभिड–१९ को महामारीमा नगर क्षेत्रमा एक संक्रमित, एक दाता अभियान चलाउँदै संक्रमितको घर–घरमा पुगेर राहत सामग्री वितरण गरेका थिए । कोभिड–१९ को दोस्रो लहरमा कोरोना संक्रमितको शव व्यवस्थापनमा दिनरात खटिएका स्काउटर शिवानी देवान र विवेक चम्लागाईलाई पनि सम्मान गरिएको छ ।
उनीहरुलाई मेयर श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी कोभिड व्यवस्थापनमा युवाको भूमिका र कोभिडको सामाजिक असर शिर्षकमा आयोजित भिडियो वक्तृत्वकला प्रतियोगितामा नगर क्षेत्रबाट सहभागिमध्ये प्रथम हुने शंशाक न्यौपाने, द्धितीय हुने आराध्या प्याकुरेल रीना घिमिरे र तृतीय हुने निशा लामिछानेलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो । प्रतिभा पहिचानतर्फ प्रथम भिषजा खतिवडा, द्धितीय आराध्या प्याकुरेल र तृतीय साकारबाबु खतिवडालाई पुरस्कृत गरिएको छ ।
नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता तथा प्रदेश- १ का सामाजिक विकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय युवा दिवसको भर्चुयल सम्बादमा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यष माधव ढुंगेलले सरकारको युवा सम्बन्धि नीति, जिल्ला युवा समिति झापाका अध्यक्ष मदन बुढाथोकीले कोभिडमा युवाको भूमिका, राष्ट्रिय युवा परिषद नेपालका सदस्य गोविन्द गिरीले राष्ट्रिय युवा नीति, नागरिक समूहका संस्थापक अध्यष निगम हुमागाईले नेपाली युवा र आगामी कार्य दिशा, अन्तराष्टिय युवा केन्द्रका राष्टिय सचिव डा. एकराज दाहालले कोभिड महामारी, खाद्यन्न एवम स्वास्थ्य सजकतामा युवाको भूमिका, नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठले युवा र लैङ्गिक समानता र मेयर श्रेष्ठले नगरपालिकाको युवा मैत्री नीति तथा कार्यक्रमका बारेमा आआफनो धारणा राखेका थिए । नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालले संयोजनमा भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेलले गरेका थिए ।