वाईसीएल मेचीनगरको प्रश्न : किन अघोषित लोडसेडिङ भइरहेछ ?
मेचीनगर । योङ कम्युनिस्ट लिग (वाईसीएल) मेचीनगर समितिले नेपाल विद्युत् प्राधिकरण धुलाबारी शाखामा ज्ञापनपत्र बुझाएको छ । राज्यले लोडसेडिङमुक्त घोषणा गरी सकेको भए पनि बारम्बार विद्युत् अवरोध हुने समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो ।
बुधवार नगर समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा अघोषित लोडसेडिङको समस्या तत्काल बन्द गर्न ध्यानाकर्षण गराइएको छ ।मर्मत आवश्यक भएका उपकरण परिवर्तन, नगर भित्र रहेका अव्यवस्थित तारको व्यवस्थापन, विद्युत् चुवाहत निगरानी तथा नियन्त्रण, लकडाउनको समयमा महसुलमा विशेष छुट र जरिमाना मिनाहा गर्न माग प्रस्तुत गरिएको छ ।
त्यसैगरी पत्रमा जनताको सूचनाको हक सुनिश्चित गर्दै टेलिफोन कल उठाउन र आवश्यक सूचना दिने कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ । नगर समितिको तर्फबाट सचिव कृष्ण राजवंशी एवम् अध्यक्ष विनोद मण्डलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विद्युत् आपूर्ति समस्या तत्काल समाधान गर्न आग्रह गर्दै पटक,पटक विद्युत् जाने समस्या नहटाए सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
सो अवसरमा वाइसीएलमा जिल्ला संयोजक ददिराम रिमाल, प्रदेश सदस्य प्रेम लुवागुन, खगेन्द्र राजवंशी, जिल्ला सदस्य अशोक धिताल, अभिषेक दवाडी, अभिजित दवाडीलगायतको उपस्थिति रहेको थियो । ज्ञापन पत्र प्राधिकरण शाखा प्रमुखसमक्ष बुझाइएको थियो । ज्ञापन पत्र बुझ्दै कार्यालयको तर्फबाट यस किसिमका खबरदारीले प्राधिकरणका आगामी दिनका गतिविधिहरुमा ध्यानाकर्षण हुने जानकारी दिइएको छ ।