२०८३ असार २ गते , मंगलबार

झापामा अपाङ्गता भएकाहरू भोकै बस्नुपर्ने अवस्था, राहतका लागि खाद्यान्न र स्वास्थ्य सामग्री दिन आग्रह

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २६ गते , मंगलबार
झापामा अपाङ्गता भएकाहरू भोकै बस्नुपर्ने अवस्था, राहतका लागि खाद्यान्न र स्वास्थ्य सामग्री दिन आग्रह
झापा । कोभिड–१९को बढ्दो संक्रमण र महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाका कारण झापामा अपाङ्गता भएकाहरू भोक भोकै बस्नुपर्ने अवस्था आएको सम्बन्धित क्षेत्रका अगुवाहरूले बताएका छन् ।
अपाङ्गता भएकाहरू र उनीहरूका आश्रित परिवार अहिले खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको बताइएको छ । मङ्गलवार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा कोभिड–१९ महामारीमा अपाङ्गता भएकाहरूले भोग्नुपरेका समस्या र समाधानका उपाय विषयमा भएको छलफलमा त्यस्तो बताइएको हो ।
सडक पेटीमा गीत सुनाएर माङजुङ गरी पेट पाल्दै आएका नेत्रहीनहरू तथा आफ्ना उत्पादन बजारमा लगेर विक्री गर्ने, मजदुरी गर्ने र रोजगारी गर्ने अपाङ्गता भएकाहरूको रोजी–रोटी कोभिड–१९को संक्रमण र निषेधाज्ञाका कारण खोसिएकोले भोकै बस्नुपर्ने अवस्था आएको बताइएको छ ।
बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले जिल्लामा तत्कालै पहिलो चरणमा अपाङ्गता भएका एक सय ५० परिवारलाई खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्री पु¥याउन आवश्यक भएको बताए । थापाले खाद्यान्न, मास्क, स्यानिटाइजर, अपाङ्गता भएका महिलाका लागि सेनिटेरी प्याडको चरम अभाव भएको बताए । उनले नियमित औषधि सेवन गर्नेहरूका लागि रकम अभाव, त्यहाँ घर भाडा तिर्न र खाना पकाउने ग्यास खरिद गर्न पनि कतिपयले समस्या झेलिरहेको बताए ।
नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले कोभिड–१९का कारण नेत्रहीन बालबालिकाहरू शिक्षाबाट पूर्ण रुपमा वञ्चित भएको बताए ।  झापाका २६ जना नेत्रहीन बालबालिका इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट समेत वञ्चित भएको बताए । उनले अपाङ्गता भएकाहरूले आफ्ना सहायक सामग्रीहरूको समेत अभाव झेलिरहेको बताए । अहिले मर्मत गर्ने र नयाँ खरिद गर्ने अवस्था नभएको हुँदा सेतो छडी, ह्वील चियर, श्रवण यन्त्र, जुत्ता लगायतका सहायक सामग्रीको अभाव झेल्नु परेको बताए ।
अपाङ्गता स्वावलम्बन संस्थाका कोषाध्यक्ष पद्म अधिकारीले यातायात अभावमा अपाङ्गता भएकाहरूलाई अत्यावश्यक काममा हिंड्डुल गर्न समेत समस्या भएको बताए । उनले स्थानीय सरकार र जिल्ला स्वास्थ्य कार्यालयले जारी गर्ने कोरोना संक्रमित र मृतकको तथ्याङ्कमा अपाङ्गता भएकाहरूको छुट्टै सङ्ख्या समेत उल्लेख गर्न आग्रह गरे ।
नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले नेत्रहीनहरू माग्न जान ठाउँ नभएपछि भोक भोकै बस्नुपर्ने अवस्था आएको बताए । उनले स्थानीय सरकार र सरोकारवालालाई आफ्नो पीडा बुझिदिन आग्रह गरे ।  तामाङले अपाङ्गता भएकाहरूलाई मनोसामाजिक परामर्श पनि आवश्यक भएको बताउँदै उनीहरू संक्रमित भएको खण्डमा उपचारमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सृजना बरालले डेरा गरी बस्ने अपाङ्गता भएकाहरूलाई घर भाडा छुट दिन र त्यसका लागि पहल गरिदिन स्थानीय सरकारलाई आग्रह गरिन् । झापामा तीन जना नेत्रहीन कोरोनाबाट संक्रमित भएको पनि उनले बताइन् । अपाङ्गता भएकाहरूले उत्पादन गरेका फिनेल, हार्पिक, अगरबत्ती, कुचो जस्ता सामग्री विक्री गर्ने ठाउँ नहुँदा भोकै बस्नुपर्ने अवस्था आएको बरालले सुनाइन् ।
हल्दिवारी अपाङ्ग उत्थान समूहका अध्यक्ष दिलकुमार राजवंशीले सार्वजनिक यातायातका कर्मचारीले अपाङ्गता भएकाहरूलाई गाडीमा चढ्न नदिने, गाडी नरोकिदिने र हेला गर्ने गरेको बताए । यस्तो समस्या मुख्य राजमार्गमा भोग्नु परेको उनले बताए । कोभिड–१९को अहिलेको समयमा किनमेल र बैङ्कमा जाँदा अपाङ्गता भएकाहरूलाई प्राथमिकता दिनुपर्ने उनले बताए । आफूहरूले खरिद गर्ने सामग्रीको सूची पसलका कर्मचारीलाई दिँदा उनीहरूले नै उक्त सामान झोलामा हालेर दिने व्यवस्था गर्न सके संक्रमणको जोखिम कम हुने राजवंशीले बताए । छलफलको सहजीकरण संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् ।

सम्बन्धित समाचार