खोला दोहनले झापा र इलामको चुरे क्षेत्रमा खानेपानीको समस्या, खानेपानीमा लगानी गरिएको करोडौँ बजेट खेर
(डिकेश लामा) झापा । खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरे पनि पानी नचल्दा झापा र इलामको सीमा चुरे क्षेत्रका बासिन्दाहरू खानेपानीको समस्यामा परेका छन् । बर्सातमा पाइप बगाउने र खोला गहिरिने समस्याले खानेपानी बन्द हुँदा खोला खोल्सीको पानी खोजेर खानु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । झापा र इलामको सिमानामा पर्ने चुरे क्षेत्रका बासिन्दाको खानेपानीको समस्या बर्सौँ देखि हट्न सकेको छैन । २ वर्ष देखि निर्माण थालेको लिफ्ट प्रणालीको खानेपानी योजना समेत खोला गहिरिएर पानी नचल्ने भए पछि खोला खोल्सीको पानीको भर पर्नु अवस्था आएको स्थानीयले बासिन्दाले बताएका छन् ।
दुम्से र शिखरकटेरी खानेपानीको लागि मावा खोलामा पाइप गाडेर फिल्टर गरी पानी लाने व्यवस्था गरिएको छ । बर्सेनि उत्खनन नरोकिएकाले बर्सातमा खोला गहिरिएर पानी नचलेकाले समस्या भोग्नु परेको चुलाचुली ५ का फुइकेका अगुवा अमृत राईले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाले इलाम र झापा जिल्लामा खानेपानीको रेखदेख तथा निर्माण गर्दै आएको छ । चुरे क्षेत्रका निर्माणाधीन कतिपय योजना बजेट अभाव र खोलाको धार परिवर्तन भएको कारण पानी सञ्चालनमा समस्या भएको कार्यालयका प्रमुख शयनकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार शिखरकटेरी खानेपानीको लागि झन्डै ३ करोड रकम खर्च भइसकेको छ । तर खोला गहिरिएर धार परिवर्तन गरेका कारण अहिले पानी सञ्चालनमा समस्या आएको छ ।
जिल्लामा पछिल्लो समय डीप बोरिङ र उच्च भूभागमा लिफ्ट प्रणालीबाट खानेपानी सञ्चालनको कार्य थालिएको छ । तर नदी तथा खोला गहिरो उत्खनन भएका कारण पानी सञ्चालन नहुँदा चुरे क्षेत्रका सयौँ घर परिवार डोकोमा बोकेर खोलाको पानी खान बाध्य हुनु परेको उनीहरूले बताएका छन् ।