झापाका प्रकाशलाई औषधी नै विष बनेपछि तीन वर्षदेखि ओछ्यानमा
झापा । झापा बिर्तामोड नगरपालिका २ स्थित चारपाने निवासी प्रकाश शर्मा विगत ३ वर्ष देखि ओछ्यानमा थलिएका छन् । १५ वर्ष देखि सामान्य रुपमा बाथ रोगबाट सुरु भएको उनको बिग्रँदो स्वास्थ्य क्रमस् कमजोर हुँदै गयो । परिवारको गुजरा जलाउनु उनको मुख्य दायित्व भएकाले दवाई खादै राज मिस्त्री मजदुरी गर्दै आएका शर्मालाई बाथको दवाई नै विष साबित भएर दवाईको नकारात्मक असरका कारण घुँडाको पाङ्ग्रा र कम्मर मुनिको मुख्य दुई वटा हड्डी खिएर कामै नलाग्ने भएर हाल कम्मरदेखि तलको अङ्ग चल्न छोडेपछि उनी थलिएका हुन ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएकै कारणले रोग निदान हुने गरिएको उपचार गर्न सकेका छैनन् । विपन्न वर्गका शर्मा असक्त भएर थला पर्दा आफू मात्र होइन उनीसँग आश्रित बुवा,आमा, श्रीमती र दुई छोराहरू बिचल्लीमा परेका छन् ।
जीवन धन्नको लागि हिजोका दिनमा गर्दै आएको मजदुरी पेसाबाट पनि स्वास्थ्यको कारणले टाढा रहनु परेपछि शर्माको घरमा कयौँ समस्याहरू आई परेको छ । ६ जनाको परिवारलाई आवश्यक खाद्यान्न समेत अभाव भए पछि स्थानियहरुकोे पहल र सहयोगमा खाद्यान्न सामग्रीहरू केही हदसम्म जोहो भएको छ तर उनको उपचार गर्न सघाउने दताहरु भेटिएका छैनन् ।
भएको ५ धुर जग्गा बैङ्कमा राखेर तिन वर्ष अघि भारतको भेलवरमा उपचार गराउन भएका थिए । त्यहाँ उपचार गर्न १० लाख भारु लाग्ने बताइए पछि खर्च अभावमा उपचार नगरी स्वदेश फर्किए । भेलोरको अस्पतालमा स्वास्थ्य चेकजाँच, आउने जाने क्रममा बैङ्कबाट लिएको ऋण ३ लाख पनि सकियो अब कसरी उहाँलाई बचाउनु हामी कसरी बाच्नु भन्दै उनकी श्रीमतीले वेदना पोखेकी छन् । उनी भन्छिन् ‘भगवान् बनेर दाताहरू आइदिए हुन्थ्यो’ उनले सबै सँग सहयोगको याचना समेत गरेकी छन् ।
‘प्रकाश शर्माले उपचार पाउने हो भने पुनः उनलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ काम गरेर खान सक्ने बन्छन् ।’ ‘उनको उपचारमा कृत्रिम हड्डी (स्टिल) लगाउनु पर्छ, ठुलो अप्रेसन गर्नु पर्छ’ सबै खर्च करिब १५ लाख जति लाग्ने हार्डजोर्नी विशेषज्ञ प्रेमबहादुर साहीले बताएका छन् ।
भर्खर परिपक्व हुँदै आफ्नो जीवनलाई परिवार र समाजको लागि प्रयोग गर्दै आएका कर्मशील ३२ वर्षीय युवा यसरी उपचार अभावमा ओछ्यानमा लडिरहेको दृश्यले सबैको मन भयवित बनाउँछ । उनको घर र परिवारलाई हेर्दा झन् दया पलाएर आउने अवस्था रहेको छ । प्रकाश शर्मालाई उपचारमा सबैले सकेको सहयोग गर्ने हो भने उनी पुन तन्दुरुस्त र बाच्ने थिए ।