२०८३ असार २ गते , मंगलबार
अत्यधिक गर्मीले झापामा दुई जनाको मृत्यु
झापा.। अत्यधिक गर्मीका कारण शुक्रवार झापामा दुई जनाको मृत्यु भएको छ । गर्मीका कारण बेहोस भएर ढलेको अवस्थामा दुई जनाको शव फेला परेको हो ।
बिर्तामोड नगरपालिका ३ स्थित अनारमनि स्वास्थ्य चौकी अगाडि ३० वर्षीया कुमारी श्रेष्ठ मृत फेला परेकी हुन् । बिर्तामोड –१० सैनिक बजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताएका छन् । अत्यधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले बताए ।
त्यस्तै अर्जुनधारा नगरपालिका ५ बस्ने ६० वर्षीय शुक्र दनुवारको माछा मार्दामार्दै ढलेर मृत्यु भएको छ । बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका उनी त्यही ढलेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । हिजोदेखि झापामा अत्यधिक गर्मी बढेको छ, जसले जनजीवन प्रभावित बनेको छ ।