२०८३ असार २ गते , मंगलबार

जयसिंहको न्याय माग्दै झापाको दमकमा विप्लव नेकपाको वृहत् प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १८ गते , सोमबार
जयसिंहको न्याय माग्दै झापाको दमकमा विप्लव नेकपाको वृहत् प्रदर्शन

झापा । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षीय युवा जयसिंह धामीको न्याय माग्दै विरोध प्रदर्शन गरेको छ ।

भारतीय सुरक्षाकर्मी (एसएसबी)ले तुइन मार्फत महाकाली नदी तर्ने क्रममा तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसबीले नेपाली युवा जयसिंह धामीको अमानवीय हत्या गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले साउन १६ गते र आज १८ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो । सोही अनुरूप १६ गते शनिवार पार्टीले सिमानाका काँकडभिट्टामा वृहत् विरोध प्रदर्शन गरेको थियो भने आज दमक विरोध प्रदर्शन गरेको हो । दमकमा भएको उक्त विरोध र्‍यालीमा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बू , पार्टी केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, जिल्ला सचिव प्रशान्त थापा, जिल्ला कार्यालय सचिव सञ्जय राई लगायतका जिल्ला नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

दमकको बसपार्कबाट सुरु भएको विरोध र्‍याली कार्यक्रम पशु हाट , गणतन्त्र चोक हुँदै आकाशे पुल, गोर्खा डिपार्टमेन्ट हुँदै पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो । उक्त र्‍यालीमा विभिन्न नारासहितका प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियो । र्‍यालीमा जयसिंहलाई न्याय दे, भारतीय हस्तक्षेप बन्द गर, दलालहरू होसियार, एमसिसी सम्झौता खारेज गर , भारतीय एसएसबी मुर्दावाद, नेपालीहरूको जीवन रक्षा गर , घटनाको सत्य तथ्य छानबिन गर, वैज्ञानिक समाजवाद जिन्दाबाद , एकीकृत जनक्रान्ति जिन्दाबाद लगायतका नारा लगाइएको थियो ।

उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले सञ्चालन गरेका थिए भने सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा भारतीय एसएसबीले अमानवीय तरिकाले हत्या गरिएका जयसिंहलाई सहिद घोषणा गर्न माग गरेका छन्। आफूहरूले देश र जनताको हितका लागि कुरा उठाउँदै गर्दा , जनताको जीवन रक्षाका निमित्त आवाज उठाउँदै गर्दै , साम्राज्यवादीहरूको विरोध गर्दै गर्दा सत्ता सञ्चालक दलालहरूले प्रतिबन्ध समेत लगाएको स्मरण गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका निमित्त कटिबद्ध भएर लड्ने उद्घोष गरेका थिए ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंह धामीको हत्याको सत्य तथ्य छानबिन गरी हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटक पटक भारतीयहरू हस्तक्षेप हुँदासमेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुइँक्क नबोली बसेको बताए । यो सत्ता र यसका सञ्चालक आफ्नो ढङ्गबाट नभएर विदेशी दलालहरूको इशारामा चलिरहेको बताउँदै यो संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको उनले जिकिर गरे।

भारतले आफ्नो नागरिकको हत्या गर्दा समेत सरकारले घटनाको छानबिन गर्न र सत्य तथ्य सार्वजनिक गर्न आलटाल गरेको भन्दै लिम्बूले आफ्नो नागरिक प्रति जिम्मेवारी बोध गर्न नसक्ने शेरबहादुर देउवा नेतृत्वको सरकारको राजीनामा माग गरेका छन्,। हिजो विदेशीको इशारामा चलेको दलाल सरकारको संरक्षण गर्दै सडकमा प्रदर्शन गर्ने र केपी ओली “आइ लभ यु” भन्ने एमालेका कार्यकर्ताहरू आज आफ्नो देशको नागरिकको अमानवीय हत्या हुँदा कहाँ गए भन्दै उनले यो सत्ताको एक मात्र विकल्प वैज्ञानिक समाजवाद रहेको बताएका छन्,।

नेता लिम्बूले हिजो सुकुम्वासी जनताको भोटबाट जनप्रतिनिधि बनेकाहरू नै आज सुकुम्वासी बस्तीमा डोजर चलाउन लागिपरेको , गरिब ,मजदुरहरू माथि शोषण गरेको र दलालहरूको विरुद्ध अब मजदुर सुकुम्वासीले विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने बताएका छन्,।

सम्बन्धित समाचार