कचनकवलमा ८ फिट अग्लो शिव मूर्ति र पक्की पुल उद्घाटन
झापा । झापाको कचनकवल गाउँपालिका-१ डाकुपाडास्थित भुतेश्वर शिवालयको परिसरमा साढे ८ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको छ
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को ५ लाख रुपैयाँको बजेटबाट सो शिव मूर्ति निर्माण गरिएको हो । सो शिव मूर्तिको सङ्घीय सांसद राजेन्द्र लिङ्देनले हिजो अनावरण गरे । कचनकवलको भुतेश्वर शिवालयको पूर्वकै धार्मिक स्थलको रुपमा रहेको छ । त्यहाँ साउन महिनाको सोमबार जल चढाउन भक्तजनहरू जाने गर्दछन् । साउनको पहिलो र अन्तिम सोमबार त्यहाँ मेला लाग्ने गरेको छ ।
त्यसैगरी हिजो नै सांसद लिङ्देनले कचनकवल ७ को बालुवा थान खोलामा निर्मित पक्की पुलको उद्घाटन गरे । ५० लाख सांसद विकास कोष र ३१ लाख गाउँपालिकाको गरी ८१ लाख रुपैयाँको लागतमा १९ मिटर लामो पुल निर्माण भएको हो । सीता निर्माण सेवाले सो पुलको ठेक्का पाएको थियो । पुल निर्माण भएपछि भद्रपुरबाट सिंगीमारी जान सजिलो भएको कचनकवल गाउँपालिकाका प्राविधिक अमित ढुङ्गानाले बताए ।