भद्रपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
भद्रपुर । झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाले आज मध्य रातिबाट नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समिति झापाको साउन १४ गतेको निर्णय अनुसार भद्रपुर नगर प्रशासनले नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवाहरू साउन २३ गते मध्य रातिसम्मका लागि स्थगित गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार नगरभित्रका सबै वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रूपमा बन्द रहने छन् भने विभिन्न शाखा र मातहतका निकायका सेवा पनि साउन २३ गतेसम्मका लागि बन्द गरिएका हुन् । झापामा कोभिड १९ का बिरामीको सङ्ख्याले उच्च गति लिएको ठहर गर्दै एक हप्ताका लागि आज मध्य रातिबाट २३ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरिसकेको छ ।
दोस्रो लहरअन्तर्गत झापाभित्र समुदाय स्तरमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नियन्त्रणको प्रयास स्वरूप जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय झापाले आज मध्यरातबाट लागू हुने गरी पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो ।
आज मध्य रातिदेखि साउन २३ गते मध्य रातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा बिहीबार जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै यातायात र व्यापार व्यवसाय समेत बन्द गरिएको छ । यसअघि खुकुलो निषेधाज्ञा कायम थियो ।कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन समितिको सिफारिसमा प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको जनाएका छन् ।