बिर्तामोडकी दिदीबहिनीको भारतबाट उद्धार, दुई जना पक्राउ
झापा । झापाकी दिदीबहिनीलाई भारतको विहारबाट उद्धार गरी नेपाल फर्काइएको छ । बिर्तामोड नगरपालिका- २ निवासी १५ वर्षीया किशोरी र २१ वर्षीया युवतीलाई नेपाल प्रहरी र माइती नेपालको सहकार्यमा उद्धार गरी नेपाल ल्याइएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
उद्धार गरिएका दुवै जना नातामा दिदीबहिनी हुन । प्रहरीका अनुसार घरका सदस्यलाई कुनै जानकारी बिना ती दिदीबहिनीलाई बिर्तामोडका लक्ष्मी दास र इटहरीका खुश्बु नाम गरेका व्यक्तिले भारतको विहार राज्यस्थित मोथिहारी जिल्लाको छौडादानी लगेका थिए ।
दिदीबहिनीलाई भारतमा आरकेस्ट्रा ९डान्स० काम लगाइदिने भन्दै लक्ष्मी र खुश्बुले ललाइफकाइ लगेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए । उनीहरू बेपत्ता भए पछि परिवारका सदस्यले हुलियासहित इलाका प्रहरी कार्यालय अनारमनिमा साउन ४ गते निवेदन दिएको थियो ।
प्रहरीमा निवेदन परेपछि खोजतलास गर्ने क्रममा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपाल वीरगन्जको समन्वयमा भारतबाट उद्धार गरी ल्याइएको हो । उद्धार गरी ल्याइएका दिदीबहिनीलाई माइती नेपाल वीरगन्जको सेन्टरमा राखेर परिवारजनलाई बुझाउने पहल भइरहेको छ । यता जिल्ला प्रहरी कार्यालय पर्साले दिदीबहिनीलाई भारत लैजाने लक्ष्मी र खुश्बुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई आवश्यक कारबाहीका लागि झापा ल्याउने तयारी भइरहेको डिएसपी थापाको भनाई छ ।