झापाको गौरादह पनि 'सिल'
झापा । झापाको गौरादहमा भोलि मङ्गलवारदेखि एक साता आंशिक सिल हुने भएको छ । कोभिड-१९ नियन्त्रण सम्बन्धी सोमबार बसेको सर्वपक्षीय बैठकले साउन १२ गते मध्यराति १२ बनेदेखि साउन १८ गते मध्यराति १२ बजेसम्म आंशिक सिल गर्ने निर्णय गरेको हो । कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा त्यसका नियन्त्रणका लागि र नजिकका पालिकाहरूमा गरेको बन्दाबन्दीलाई मध्यनजर गर्दै सिल गर्ने निर्णय गरिएको गौरादहका नगरपालिकाका मेयर रोहितकुमार शाहले जानकारी दिए । बैठकले नगर क्षेत्रभित्र साप्ताहिक हाटबजार पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै, औषधी पसल र दूध डेरी बाहेक अन्य पसल तथा व्यवसाय र तरकारी बजार समेत बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । बैङ्क तथा वित्तीय संस्थाको हकमा भने बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको जनाइएको छ । जिल्लाको दमक, बिर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा पनि सिल गर्ने निर्णय यसअघि गरिसकेको छ ।