मेची अस्पतालका डाक्टरमाथि हातपात गर्नेले मागे माफी
झापा । मेची अस्पताल भद्रपुरको डाक्टरमाथि हातपात गरेको घटना दुवै पक्षबिचको आपसी सहमतिमा टुङ्गिएको छ । अस्पतालका डाक्टर केवल कपुरीलाई हातपात गर्ने हल्दिबारी निवासी पुष्पराज निरौलाले शुक्रवार बिहान अस्पताल परिसरमा सार्वजनिक रूपमै माफी मागेपछि विवाद समाधान भएको हो । निरौलाले घटनाप्रति क्षमायचान माग्दै भने, आकस्मिक कक्षमा डियुटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीसँग चर्को स्वर र आवेशमा आएर कुरा गरेको हो ।
साथै महिला एचए स्वास्थ्यकर्मीमाथि अपशब्द प्रयोग गरी डाक्टरले मलाई सम्झाउन खोज्दा उहाँसँग उल्टै मैले दुर्व्यवहार गरी हातपात गर्न पुगे । यस्तो महामारीको बेला अहोरात्र खटिरहेका चिकित्सकहरूप्रति मैले गरेको व्यवहार र घटनाप्रति क्षमायचान माग्न चाहन्छु ।
आवेशमा आएर डाक्टर र स्वास्थ्यकर्मीलाई बोलेको अपशब्द पनि फिर्ता लिन चाहन्छु । यस्तो घटनाले स्वास्थ्यकर्मीको मनोबल घटने र अन्य बिरामीको उपचारमा असर पर्ने महसुस गर्दै यस्तो घटना फेरि भविष्यमा नदोहोराउन प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।
यता अस्पतालका डाक्टरहरूले पनि प्रेस विज्ञप्ति निकाल्दै डाक्टरमाथि हातपात गर्ने व्यक्तिले क्षमयाचनामा मागेकोप्रति धन्यवाद दिएका छन् । पछिल्लो पटक देशका चिकित्सक र स्वास्थ्यकर्मीमाथि यस्ता घटनाहरू भइरहेको छ । त्यसैले चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सरल रुपमा काम गर्न वातावरण राज्यले बनाइदिनु पर्छ । यस्ता प्रकारका घटना पुनः नदोहोराउन बिरामी र बिरामीका आफन्तजनलाई अनुरोध गर्दछु ।
यता अस्पतालका मेसु डा.टङ्कप्रसाद बाह्रकोटीले अस्पतालमा सेवा सुविधामा चित्त नबुझेको खण्डमा अस्पताल प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन् । डियुटीमा रहेका चिकित्सकमाथि हातपात गर्ने कार्य गलत भएको बताउँदै उनले भने, ‘यस्तो घटना फेरि कहिले नदोहोरियोस् ।’ साउन ३ गते बेलुका हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए । आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबिच उपचारकै विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा दुवै पक्षबिच हात हालाहाल भएको थियो । त्यसपछि चिकित्सकहरूले साउन ४ गते आकस्मिकबाहेक सबै सेवा ६ घण्टा अवरुद्ध गरेका थिए, भने प्रहरी कार्यालय झापामा कारबाहीका लागि जाहेरी समेत दिएका थिए ।