ओलम्पिक लेखन प्रतियोगिताको पुरस्कार र कोरोना लेखनवृत्तिको रकम प्रदान
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं. १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखन वृत्तिमा सहभागी पत्रकारहरूलाई प्रोत्साहन रकम प्रदान गरिएको छ ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासङ्घको बिर्तामोडस्थित कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि स्पोर्टस् फर अल कमिसन नेपाल प्रदेश १ का संयोजक तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौलाले प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए ।
स्पोर्टस् फर अल कमिसन नेपाल प्रदेश १ को सहयोगमा महासङ्घले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने इलामका नमिन ढकाललाई ११ हजार रुपैयाँ, द्वितीय हुने ताप्लेजुङका खगेन्द्र अधिकारीलाई सात हजार रुपैयाँ, तृतीय हुने झापाका हिमालचन्द्र खरेललाई पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँचथरका भीम बास्कोटालाई तीन हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि सिटौलाले पत्रकारिता क्षेत्रबाट खेलकुदको समग्र विकासमा टेवा पु¥याउन र खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न सहयोग गरिएको बताए । उनले पत्रकार महासंघ झापाको साझेदारीमा पुरस्कारको राशि वृद्धि गरी आगामी वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कोरोना संक्रमण भई हाल स्वास्थ्य लाभ गरेका झापाका १३ जना पत्रकारलाई महासंघ झापा शाखाको सिफारिसमा महासंघ प्रदेश समितिले लेखन वृत्ति प्रदान गरेको थियो । कोरोनाबारे सचेतना जगाउने तथा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारले निर्वाह गरेको सकारात्मक भूमिकाबारे आह्वान गरिएको लेखन वृत्तिमा सहभागीहरूलाई प्रोत्साहन स्वरूप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
लेखन वृत्तिमा सहभागी झापाका पत्रकारहरू भीमा सिवाकोटी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, राजु अधिकारी, दीपेन्द्र पौडेल, तुलसी निरौला, गौरव पोखरेल, सन्तोष आचार्य, सुव्रत न्यौपाने, पुष्प बराल, विष्णु पौडेल, अनिता भेटवाल र सन्तोष न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।
कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का सदस्य गोपाल काफ्ले, नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीले शुभकामना व्यक्त गर्दै महासङ्घको नयाँ नेतृत्वले निर्वाह गरिरहेको अभिभावकीय र संस्थागत भूमिकाप्रति धन्यवाद ज्ञापन गरे । उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशीला सङ्ग्रौलाले धन्यवाद ज्ञापन, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा लेखन प्रतियोगितामा उत्कृष्टहरूको नाम घोषणा सहसचिव तथा सो कार्यक्रमका संयोजक अर्जुन राजवंशीले गरेका थिए ।
महासंघ झापा शाखाका सदस्य स्वर्गीय केशवराज धितालको निधनप्रति गहिरो दुःख र उहाँको आत्माको शान्तिका लागि श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सुरु गरिएको थियो ।