मैथिली समुदायमा पहिलोपटक छोरीले गरिन् बुवाको क्रिया
झापा । मैथिली समुदायमा पहिलोपटक एक जना छोरीले कोरामा बसेर बुवाको काजक्रिया गरिरहेकी छन् । खस समुदायमा छोरीले काजक्रिया गरेको प्रशस्तै उदाहरण भए पनि मैथिली र आदिवासी समुदायमा भने प्रचलनमा आइसकेको थिएन । नेपाली काँग्रेस झापाका आमन्त्रित जिल्ला सदस्य महेन्द्रभूषण साहको निधनपछि उनका जेठी छोरी मनीषाले दिवङ्गत बुवाको काजक्रिया गरिरहेकी हुन् ।
बिर्तामोड–४ निवासी साहको ५५ वर्षको उमेरमा उपचारको क्रममा गत असार २८ गते बिएण्डसी अस्पताल बिर्तामोडमा निधन भएको थियो । उनका तीन जना छोरी मात्र छन् । तीन जना छोरीमध्ये जेठी छोरी मनीषा कोरामा बसेकी हुन् । उनी बीएमा अध्ययनरत छिन् । त्यस्तै माइली छोरी निशा बिबिए र कान्छी अञ्जलि बीबीएसमा पढ्छिन् । छोरीले बुवाको काजक्रिया गर्नुलाई मधेसी समुदायले समाज परिवर्तनको रुपमा लिएको छ । यसलाई आफूहरूले समाज परिवर्तनको उदाहरणको रुपमा लिएको रामेश्वर मण्डलले बताए । उनका अनुसार यसलाई समाजका अरू सदस्यहरूले पनि सकारात्मक रुपमा लिएका छन् ।
आफ्ना समाजका मानिसहरूले परिस्थिति बुझेर छोरीले बुवाको काजक्रियामा बस्नुलाई सकारात्मक रुपमा लिएको माइली छोरी निशाले बताइन् । उनले राम्रो कुराको अनुसरण गर्न सके मात्र समाज समृद्ध बन् नसक्ने प्रतिक्रिया दिइन् । बुधवार १० औं दिनको पुण्य तिथिसम्म जेठी छोरी मनीषा कोरामा बसेर चोखिएकी छन् । त्यसपछि उनका काका निन्ठु शाह कोरामा बसेका छन् । यसअघि मधेसी र आदिवासी समुदायमा बुवा आमाको मृत्यु भएमा छोराले काजक्रिया गर्नुपर्ने , छोरा नहुँदा भाइ भतिजा र उनीहरू पनि नभए दश दिने बन्धुले काजक्रिया गर्ने चलन रहेको थियो । तर, छोरीलाई कोरामा बस्न दिने चलन थिएन । मृतक साहकी श्रीमती गीतादेवी रहेकी छन् । यसैबिच आमन्त्रित जिल्ला सदस्य साहको निधनप्रति दुख व्यक्त गर्दै नेपाली काँग्रेस झापाले समवेदना व्यक्त गरेको छ । नवौँ दिन मङ्गलवार संविधानसभाका सदस्य सुधीरकुमार सिवाकोटीको उपस्थितिमा नगर सभापति भोजराज सिटौलालगायतले घरमै पुगेर समवेदना पत्र बुझाएका थिए । त्यस्तै छठ समाज सेवा समितिले पनि समवेदना पत्र बुझाएको छ ।
दिवङ्गत साहले मधेसी जनअधिकार फोरमबाट ०६४ सालको संविधानसभा निर्वाचन झापा क्षेत्र नम्बर २ मा चुनाव लडेका थिए । उनी त्यस बेला फोरमको झापा जिल्ला कोषाध्यक्ष थिए। जयप्रकाश (जेपी) गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानको केन्द्रीय सदस्य हुँदै चार वर्षअघि उनी काँग्रेसमा प्रवेश गरेका थिए । तेली समाज झापाका अध्यक्ष समेत रहेका उनी बिर्तामोड छठ सेवा समाजका सल्लाहकार हुन् । जुत्ता चप्पल उत्पादन गर्ने सामग्रीको व्यवसाय गर्दै आएका उनी मालक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका ऋण अधिकृत समेत हुन् ।