हल्दिबारीमा अज्ञात समूहले भत्काए 'पारुखुपी' स्तम्भ
हल्दिबारी । झापा जिल्लाको पुरानो बजार पारुखुपीको इतिहासलाई प्रतिनिधित्व हुने गरी निर्माण गरिएको परेवाको स्तम्भ उद्घाटन नहुँदै भत्काइएको छ । निर्माण सम्पन्न भइसकेर केही दिनपछि उद्घाटन गरिन लागिएको स्तम्भको तल्लो भाग अज्ञात व्यक्तिले भत्काइदिएका हुन् । हल्दिबारीका कार्यपालिका सदस्य खगेन राजवंशीले पहिचान विरोधीले त्यस्तो गलत काम गरेको हुनसक्ने बताउँदै भत्काउनेको खोजी भइरहेको जानकारी दिए ।
राजवंशी भाषामा पारूँ अर्थात् परेवा र खुपी अर्थात् खोर भन्ने बुझिन्छ । परेवाको खोर रहेकै कारण पारुखुपी नामकरण भएको यस ठाउँको इतिहासलाई जोगाउन परेवा अङ्कित स्तम्भ निर्माण गरिएको हो । यस ठाउँमा रहेको दुर्गा मन्दिरको डाँडामा पहिले परेवाहरू गुड लगाएर बस्थे । त्यसकारण तत्कालीन जमिन्दारहरु मुत्तु गणेश, खलाकुटु राजवंशीसहितका व्यक्तिहरूले यस ठाउँको नाम पारुखुपी राखेको भनाइ सुन्न सकिन्छ ।
हल्दिबारी गाउँपालिका- २ को पारुखुपी बजार चोकमा पारुखुपीको इतिहासलाई लोप हुन नदिन परेवा अङ्कित स्तम्भको गत जेठ १२ गते संविधानसभा सदस्य तथा प्रदेश सांसद पूर्णप्रसाद राजवंशी र संविधानसभा सदस्य मोहन टुडुले संयुक्त रुपमा शिलान्यास गरेका थिए । हल्दिवारी २ नम्बर वडा कार्यालयको आर्थिक वर्ष ०७७–०७८ को विनियोजित ४ लाख बजेटबाट सो स्तम्भ निर्माण गरिएको कार्यपालिका सदस्य राजवंशीले जानकारी दिए ।