२०८३ असार १ गते , सोमबार

भुक्तानी दिने सहमतिपछि अर्जुनधारा नगरपालिकाको ताला खुल्यो

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ४ गते , सोमबार
भुक्तानी दिने सहमतिपछि अर्जुनधारा नगरपालिकाको ताला खुल्यो

झापा । नगर शिक्षा शाखा अन्तर्गत विभिन्न शीर्षकमा आएको बजेट फ्रिज भएको भन्दै अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक सङ्घका प्रतिनिधिहरूले नगरपालिकाको कार्यालयमा आइतबार लगाइएको ताला खोलिएको छ ।नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाहरूको बैठकमा सो समस्या समाधान गर्न सहभागीहरू सहमत भएपछि कार्यालयमा लगाइएको ताला खोलिएको प्रमुखका सचिवालयले जानकारी दिए ।

बैठकमा सहमत भएको निर्णयहरूमा अर्जुनधारा नगरपालिकामा सञ्चालित राष्ट्रपति सुधार कार्यक्रमलगायत विभिन्न आयोजनाहरूको समयमा भुक्तानी नभएको सम्बन्धमा के कति कारणले उक्त समस्या उत्पन्न भएको हो प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र छानबिन गरी नगर कार्यपालिकामा प्रतिवेदन दिनुपर्ने, विविध प्राविधिक कारणले गत आर्थिक वर्ष ०७७-०७८को अन्तिम समयमा भुक्तानी हुन नसकेको आयोजनाहरूको भुक्तानीका लागि नगरपालिकाले उपयुक्त वित्तीय स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षको वित्तीय कारोबार सञ्चालन हुने पश्चात् (भदौ १५ गतेभित्र) व्यवस्था मिलाउने र विविध कारणले सामुदायिक विद्यालयको रोक्का गरिएको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था नगरपालिकाले गर्ने रहेको छ ।

उक्त बैठकमा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, लेखा अधिकृत रामचन्द्र घिमिरे, नेकपा एमालेका प्रतिनिधि प्रेम सागर सापकोटा, नेपाली काँग्रेसका प्रतिनिधि हेमराज खरेल, माओवादी केन्द्रका प्रतिनिधि नारद दुःखी, राप्रपाका प्रतिनिधि लव कुश गिरीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार