२०८३ असार १ गते , सोमबार

नयाँ घर पाएकी खिनमाया फेरि रोइन् : पहिले दुःखले अहिले खुसीले

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ४ गते , सोमबार
नयाँ घर पाएकी खिनमाया फेरि रोइन् : पहिले दुःखले अहिले खुसीले

झापा । हिजोका दिनमा दुःखी, पीडित खिनमाया रोएको भिडियो हेरेर धेरै जना रोएका थिए, आज खिनमाया फेरि रोइन् प्रत्यक्ष हेर्नेहरू हाँसे । किनकि खिनमयाको रुवाइ खुसीको थियो । झापा अर्जुनधारा–५ कि खिनमायाकोमा शुभकार्यमा एकै दिन धेरै मानिसहरू भेला भएको सायदै पहिलो दिन होला । हिजोका दिनमा खिनमायालाई भेट्नेहरूले बिचरा कठैबरा कति दुःखी भनेर सहानुभूति व्यक्त गर्थे, सबैले सकेको केही सहयोग पनि गर्ने गरेका थिए । खिनमायाको घरमा आएर खिनमायासँग फोटो खिचाउने उनको घर अवलोकन गर्नेहरू कोही थिएनन् । तर, सोमबार घरभरि मान्छे त्यसमा पनि परोपकारी भावना भएकाहरूको उपस्थितिले खिनमायाको मन फुरुङ्ग भएको छ, सोमबार पनि खिनमाया खुसीले रोएकी छन् ।

हिजोका दिनसम्म राम्रो लाउने कुरा त परैजावोस् पेटभरि खानसम्म नपाएर समस्यामा परेकी अति विपन्न वर्गकी खिनमाया पौडेको समस्याको बारेमा यसअघि धेरैले थाहा पाइसकेको अवस्था छ । आज भने खिनमायाको खुसी र उमङ्गलाई तपाईँहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ । यसअघि खिनमायाको कठिन अवस्थालाई सञ्चारमाध्यमले समुदायमा देखाएपछि समुदायका सहयोगी मनकारीहरूले भौतिक सामग्री तथा नगद उपलब्ध गराएका कारण मजबुत, आकर्षक घर निर्माण सम्पन्न गराएर समुदायले खिनमायालाई घर हस्तान्तरण गरेको छ ।

खिनमाया घर निर्माण समन्वय समितिका अध्यक्ष ओमप्रकाश लुइँटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेना श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति अमर जङ्ग थापाको प्रमुख आतिथ्य रहेको थियो । घर निर्माणका लागि शेरबहादुर थापा, अर्जुन कँडेल, कुलप्रसाद खरेल, सोना गेलाल, उमेश उपरकोटी, रुद्रप्रसाद ढकाल, सुरज काफ्ले, डिके सेल्स एन्ड सर्भिस, हेमन्त चौहान, तेजु भण्डारी, हेल्पिङ हेण्डस् कनकाई फाउन्डेसन, हेल्पिङ हेण्डस् जापान, देवेन्द्र थापा, पदम पौडेल लगायतले सहयोग गरेका थिए ।

त्यसैगरी जीवन उप्रेती, जीत कार्की, रामप्रसाद श्रेष्ठ, दहिझोडा, नमुना, जुकेखाडी सामुदायिक वन समिति, सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रवीण अग्रवाल, पुरुषोत्तम अग्रवाल, अशोक साहेवाल, मुनमुन अग्रवाल लगायतले सहयोग गरेको खिनमाया घर निर्माण समन्वय समितिका सचिव जीवन खतिवडाले बताए ।

कार्यक्रममा दाताहरूलाई फूल गुच्छाले सम्मान गरिएको थियो भने समाचार सम्प्रेषण गरेर सहयोग गर्ने आमसञ्चार डटकमका समाचार प्रमुख विनोद पाण्डे र घर निर्माणमा श्रमदान गराउने नेपाली सेना श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति कार्यक्रमका प्रमुख अतिथि अमर जङ्ग थापालाई कदर पत्र र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरूलाई अध्यक्ष लुइँटेल, सचिव खतिवडा र खिनमायाले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि थापाले भने– ‘म झापामा पहिलो पटक आएको हो, म विगत १८ महिनादेखि यहाँ रहेको छु । मैले यो समयसम्म झापालाई बुझ्दा यहाँको समाज यति धेरै विशिष्ट, विकसित रहेछ, अरूको दुःख, कष्टमा यति धेरै सहयोग गर्ने समाज रहेछ, मैले व्यक्तिगत रुपमा झापाबाट सिकेर बुझेर यहाँबाट जाँदा दिएर जाने विषय बनेको छ ।’ घर हस्तान्तरण कार्यक्रममा दाताहरू शेरबहादुर थापा, कुलप्रसाद खरेल, मदन बुढाथोकी, हेमराज सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत कमल पोखरेलले गरेका थिए भने सञ्चालन सचिव जीवन खतिवडाले गरेका थिए ।

सम्बन्धित समाचार