कारको ठक्करबाट राष्ट्रिय धावक तेजेन्द्र प्रधानको मृत्यु
झापा। कारको ठक्करबाट नवोदित राष्ट्रिय धावक तेजेन्द्र प्रधानको मृत्यु भएको छ । दमक नगरपालिका ५ निवासी २५ वर्षीय प्रधानको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ९ दिनअघि दमक २ स्थित आम्दा अस्पताल सडक खण्डमा बा १६ च ३७२६ नम्बरको कारले सडकमा दौडिरहेका प्रधानलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टाउकोमा गहिरो चोट लागेको प्रधानको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो ।
उनको गएराति ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता कार र कार चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए । धावक प्रधानले छोटो समयमा नै मोफसलदेखि राष्ट्रियस्तरका दौड प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेको माओवादी केन्द्र दमकका सचिव तीर्थराज बस्नेतले जानकारी दिएका छन् ।