२०८३ असार १ गते , सोमबार

झापाका अर्पण शर्माद्वारा दोस्रो पटक गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३ गते , आईतबार
झापाका अर्पण शर्माद्वारा दोस्रो पटक गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी 

झापा । झापाका युवा प्रतिभा अर्पण शर्माले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दाबी पेस गरेका छन् । मेमोरी किङ्ग भनेर देशभर चिनिएका भद्रपुर नगरपालिका–८ का स्थायी बासिन्दा ३२ वर्षीय शर्माले सन् २०१५ मा पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए । त्यसबेला शर्माले ४० ओटा वस्तुको बारेमा भारतका जयसिम्हा रविलाभाको गिनिज रेकर्ड तोड्दै दमकमा आयोजित गिनिज बुक होल्डरका अगाडी एक मिनेटमा ४२ प्रकारका वस्तु नहेरेर एकै चोटि फररर जवाफ दिएपछि विश्वकिर्तिमान कायम गरेका थिए । 
आइतबार बिर्तामोडस्थित सिद्धार्थ होटेलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनकै विगतको रेकर्ड नबल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गर्दै कीर्तिमान उछिनेका थिए । अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्ने दाबी प्रस्तुत गरेको छ । 
उनले गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र माविमा १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका थिए । सो कार्यक्रममा नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम स्मरण प्रस्तुतिको भिडियो क्लिपलाई प्रमाणको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि पठाइसकेको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको शर्माले बताए । 
गिनिज बुकमा नाम लेखाएका युवा प्रतिभा शर्मालाई  नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सालमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।
 

सम्बन्धित समाचार