राजवंशी जाति बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषित
झापा । राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिएको छ । गाउँपालिकाको आज सम्पन्न नवौँ गाउँ सभाले बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक राजवंशी जातिलाई घोषणा गरेको हो । गाउँ सभामा गाउँपालिकाका प्रवक्ता रहेका वडा नं १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले सो प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई गाउँ सभाले सर्वसम्मत पारित गरेको प्रवक्ता राजवंशीले जानकारी दिए । ऐतिहासिक प्रमाणका आधारमा राजवंशी जाति नै पहिलो जाति भएकाले सो प्रस्तावउपर कसैले पनि आपत्ति नजनाएको प्रवक्ता राजवंशीले बताए ।
झापाका १५ वटा पालिकामध्ये बाह्रदशीमा पहिलोपटक यहाँका सबैभन्दा पुराना बासिन्दा भूमि पुत्र राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गरिएको हो । गत असार २२ गते राजवंशी विकास प्रतिष्ठानले बाह्रदशी गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि बसोबाससित मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको थियो । बाह्रदशीभित्र प्राचीन कालदेखि बसोबास गरी यहाँको भूमिलाई आबाद र सिञ्चित गरेको राजवंशी जाति यस ठाउँको मुख्य जाति भएको यथेष्ट प्रमाणहरू भएकाले सही, सत्य र यथार्थतालाई ह्रदयंगम गरी गाउँ सभाबाट राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गर्न प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो ।
नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २०१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीन कालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान रहेको छ । करिब ४१ जातजातिको बसोबास रहेको बाह्रदशी गाउँपालिकामा राजवंशी जातिको जनसङ्ख्या सबैभन्दा बढी रहेको छ । २ हजार घरधुरीमा रहेका राजवंशीहरूको जनसङ्ख्या ९ हजार १३१ रहेको छ । जुन कूल जनसङ्ख्याको २३।०५ प्रतिशत हो ।