२०८३ असार १ गते , सोमबार

आमा मानेर गाईको किरिया बार्दै मेचीनगरका दाहाल

sajilo news
पार्थ मण्डल
२०७८ असार १ गते , मंगलबार
आमा मानेर गाईको किरिया बार्दै मेचीनगरका दाहाल

झापा । आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने  हिन्दू परम्परा रही आएको छ। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरेका छन्। 

उनी गाई मरेका दिनदेखि  विधिपूर्वक किरियापुत्री बनेका छन्। उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो। पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने  हिन्दू चलन छ। “हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ। धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,’ उनले भने, ‘जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ। गौमाताको दुध जीवनभर खाने गरिन्छ। मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ।’

मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आएका उनले दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने जानकारी दिए। अहिले उनी गाईको थलामा नै कोरामा बसेका छन्।  कसैले नछोउन् भनेर अलग्गै बस्नु भएको उनको कम्मरमा कुशको दाम्लो बेरिएको छ। किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको उनले बताए। मरेको गाईलाई थला नजिकै गाडिएको छ। दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले जानकारी दिए। रासस

सम्बन्धित समाचार