मोरङमा थप एक साता निषेधाज्ञा लम्बाइयो
झापा । मोरङमा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले असार २ गतेबाट थप एक साता निषेधाज्ञा लम्बाएको हो । निषेधाज्ञा कोरोना संक्रमण रोक्न प्रभावकारी उपायका रूपमा देखिएकाले निषेधाज्ञाको अवधि थप एक साता लम्बाइएको हो ।
विराटनगरमा संक्रमणको दर ह्वात्तै बढेपछि वैशाख १९ गते आइतबार बिहानबाट विराटनगर महानगरपालिका, बुढीगंगा र जहदा गाउँपालिकाका साथै कटहरी गाउँपालिकाका १, २, ३, र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको थियो । सुनसरी र झापा जिल्ला प्रशासनको निर्णयलाई हेरेर पछि पुरै मोरङ जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो ।
पछिल्लो पटक जारी गरिएको निषेधाज्ञाको समय असार १ गते राति १२ बजेसम्म छ । त्यसपछि पनि एक साता निषेधाज्ञा जारी गर्न लागिएको हो । तर निषेधाज्ञा जारी गर्नुभन्दा पहिले उद्योगी, व्यवसायीहरूसमेतको राय, सल्लाह लिएर मात्रै निर्णय गरिने भएको छ ।
निषेधाज्ञा जारी रहे पनि बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामग्री, फलफूल, तरकारी, खाद्यान्न, निर्माण सामग्री ढुवानी गर्न र बिक्री वितरण गर्न छुट दिइएको थियो । जेठ २३ गतेको निर्णयमा भने पाठ्य सामग्रीका पसलहरू पनि खोल्न दिएको छ ।
व्यवसायीहरूले भने असारमा निषेधाज्ञा जारी नहोला भन्ने आशा गरेका छन् । असार महिना आर्थिक वर्षको अन्तिम महिना भएकाले राजस्व बुझाउने, बैङ्कको व्याज तिर्ने आदि काम पर्ने हुँदा निषेधाज्ञा हट्न सक्ने अड्कल काटेका हुन् ।
तर कोरोना संक्रमण नियन्त्रणमा नआइसकेकाले स्थानीय प्रशासन अझै एक साता निषेधाज्ञा बढाएर हेर्ने पक्षमा छ । समय तोकेर अरू केही व्यवसायमा छुट गर्न सकिए पनि हाट बजार खोल्ने, बिहे भोज तथा अन्य भोज भतेरमा मानिसहरू जम्मा हुने, होटेल तथा रेस्टुरेन्टहरू खोल्न दिने पक्षमा स्थानीय प्रशासन छैन । त्यसै गरी सिनेमा हल, स्विमिङ पुल, जिम खाना आदि खोल्न पनि तत्कालै नदिइने भएको छ ।
निर्णय गर्नु भन्दाअघि पछिल्लो अवस्थामा देखिएको स्वास्थ्यको अवस्था तथा सुधारको अवस्था आदिलाई हेरेर मात्रै अर्को निर्णय गरिने भएको छ ।