क्रेन बोकेको ट्रकले ३३ केभीको विद्युत् लाइन छुँदा दुईको मृत्यु, दुई जना घाइते
सोलुखुम्बु। सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले ३३ केभीको विद्युत् लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडी ट्रकमा सवार क्रेनले शुक्रवार बिहान साढे ८ बजे ३३ केभिए प्रसारण लाइनमा छुँदा सवार चार जना युवामध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लोबेड गाडी चालक बागलुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियार छन् । ग १ ज ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
विगत केही वर्षयता निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाई टेन्सन लाइनमा छुँदा दुर्घटना भएको हो ।
करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ । हाई टेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।