दमकको लाइफलाइन प्रतिष्ठानमा अध्ययनरत छात्राको रहस्यमयी मृत्यु
दमक । झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक जना छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक – ५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको हिजो साँझ रहस्यमयी मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमकका इन्चार्ज प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ ।
प्रहरीले सेजलाको मृत्युको कारणबारे अनुसन्धान सुरु भइसकेको जनाएको छ । उनको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको जनाएको छ । उनलाई बुधवार बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । उनको मोबाइल नउठेपछि साथीहरू कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
साथीहरूले नै ६ देखि साढे ६ बजेको समयमा उनलाई अस्पताल पुर्याएका र तत्कालै उनको लाइफलाइन अस्पतालमा नै मृत्यु भएको देखिएको छ, हामी सूक्ष्म अनुसन्धानमा छौँ– कार्कीले भने । उनका अभिभावकहरू राती ११ बजे दमक आइपुगेका बताइएको छ । आफन्तहरू उनको मृत्यु रहस्यमयी भएको भन्दै प्रहरीमा जाहेरी दिने तयारीमा छन् । प्रहरीले भने तत्काल उनको मृत्युको कारण थाहा पाउन पोस्टमार्टमलाई प्राथमिकता दिएको बताइएको छ ।