मेचीनगर नगरपालिकाका अत्यावश्यकबाहेक सबै सेवा बन्द
मेचीनगर नगरपालिकाका अत्यावश्यकबाहेक सबै सेवा बन्द
झापा । जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिका तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगर कार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश बस्तीले जानकारी दिए । उनका अनुसार बैठकले मेचीनगर नगर कार्यपालिकाको कार्यालयसहित १५ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द गर्ने निर्णय गरेको हो । यति कसैलाई अत्यावश्यक सेवा लिनुपर्ने भए सम्बन्धित वडाको वडाध्यक्षसँग सम्पर्क गर्नुपर्ने छ ।
कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएका कारण नगरपालिका आउने सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर भिडभाड कम होस् भनेर जेठ मसान्तसम्म फोहोर मैला सङ्कलन, स्वास्थ्य सेवा, वारुण यन्त्रबाहेकका अन्य सेवा बन्द गरिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए । साथै बैठकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन नगरवासी, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी र गैरकारी संस्था, स्थानीय प्रहरी प्रशासनलगायत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।मेचीनगरका एक जना वडा अध्यक्ष र एक जना कर्मचारीको कोभिड सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ भने एक जना कर्मचारी कोभिडको उपचारका लागि अस्पताल भर्ना छन् । आइतबार मात्रै थप एक कर्मचारीमा कोभिड १९ संक्रमण देखिएको छ ।